वागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ६, थैनामा श्री यशोधरा बौद्ध माध्यमिक विद्यालय अवस्थित छ । विद्यालय लगनखेल देखि करिब ५०० मिटरको दुरीमा रहेको छ । यशोधरा बौद्ध माध्यमिक विद्यालय, भगवान बुद्धको दिव्य उपदेशलाई अङ्गिकार गरी विद्यालयका विद्यार्थीहरुलाई बौद्ध शिक्षासहित परियत्ति शिक्षाको अध्यापन कार्य गर्दैै आइरहेको छ ।
यस विद्यालयको संस्थापक श्रद्धेय माधवी गुरुमा भारत र म्यानमारमा बौद्ध धर्मको ज्ञान प्राप्त गर्नु भई उक्त ज्ञान सबैमा फैलाउन बौद्ध धर्म अध्ययन गराउनु पर्छ भनी चिन्तनशिल हुनु भयो र सोही अनुसार वि.स. २०१३ साल जेष्ठ ३ गते आफ्नै घरकोे छिडींमा विद्यालय स्थापना गर्नु भयो । नारीहरुलाई शिक्षा दिनु अति आवश्यक भएकोले विद्यालयका संस्थापक श्रद्धेय माधवी गुरुमाले आफनै दिदीसँग ५, ६ जना विद्यार्थीहरुबाट शिक्षण कार्य शुभारम्भ गर्नु भयो । गुरुमाले बौद्ध धर्ममा आजीवन लाग्ने प्रण गर्दै विद्यार्थीहरुलाई भौतिक ज्ञानको साथै आध्यात्मिक ज्ञान पनि दिदै जानु भयो । गुरुमाले विद्यालय स्थापना गर्नु भए पछि विद्यालय सञ्चालनको प्रगतिमा स्थानीय जनसमुदायले पनि चासो राख्ने काम भए पछि वि.स. २०१७ साल तिर श्री धर्मरत्न शाक्य “ त्रिशुली ” ज्यूको सहयोगबाट वि.स. २०१८ साल आषाढ २ गते श्री यशोधरा बौद्ध प्राथमिक विद्यालयलाई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरियो ।
श्रद्धेय गुरुमा माधवीको छिडींमा विद्यालय सञ्चालन भइरहेको अवस्थामा पूज्य अमृतानन्द भन्ते ( आनन्दकुटी विद्यापीठको संस्थापक ) ले विद्यालय अवलोकन गर्ने क्रममा विद्यालयको भौतिक पूर्वाधार विकास गर्नका लागि आश्वासन दिनु भए पछि पूज्य डा. अमृतानन्द भन्तेले रुस जानु भई आर्थिक सहयोग सङ्कलन गर्नु भए पश्चात वि. सं. २०२१ आश्विन १ गते बुधवारका दिन थपाबहीको गुठीको जग्गा खरीद गरी विद्यालयको सिलान्यास कार्य सम्पन्न गरियो भने वि.सं २०२५ साल फाल्गुण महिनामा विद्यालय थपाहिटीको आफनो घरबाट हालको स्थानमा सारियो । तत्कालीन समयमा नि.मा.वि. स्वीकृत पनि प्राप्त भयो ।
वि.स.२०३६ सालमा स्व. श्री ५ धीरेन्द्र सरकारले विद्यालय अवलोकन गर्नु भई नि.मा.वि कक्षा सञ्चालन गर्न कक्षा कोठा अभाव भएको महशूश गर्नु भई ३ वटा कक्षाकोठा थप गर्न शिक्षा मन्त्रालय मार्पmत सहयोग भयो । वि.सं. २०५२ सालमा AAEN MITRA जापानको सहयोगमा विद्यालय भवनमाथि तेस्रो तल्ला थप कार्यक्रम सम्पन्न भयो । हाल विद्यालयमा कक्षा कोठा २४ वटा भएको छ । तदानुसार स्थानीय समुदाय र अभिभावकहरुको माग बमोजिम वि.स.२०५६ साल पौष महिनामा मा.वि.तह प्रस्तावित भयो र २०५७ सालदेखि SLC परीक्षा सञ्चालन भयो । वि.सं २०७६ सालबाट कक्षा ११/१२ अनुमति प्राप्त गरी हाल बाल विकास देखि कक्षा १२ सम्मको अध्यापन भई रहेको छ ।
soon